काठमाडौं,  । काठमाडौंमा गुण्डा नाइके दाबा लामालाई गोली हानिएको एक साता नबित्दै राजधानीमै अर्को रहस्यमय गोलीकाण्ड भएको छ । यो गोलीकाण्डको विषयमा प्रहरी समेत झस्किएको छ ।

घटना ललितपुरको हो । तर, आइतबारको घटना प्रहरीले मंगलबार मात्र थाहा पायो । त्यो पनि पीडित उपचारका लागि अस्पताल पुगेपछिमात्रै घटनाको पोल खुलेको हो ।

क्रिस्चियन महासंघका सचिव समेत सन्तोष खड्कामाथि आइतबार बेलुकी गोली हानिएको थियो । तर, घटनाको तेस्रो दिनमात्रै खड्का उपचारका लागि पाटन अस्पताल पुगेपछि गोलीकाण्डको पोल खुलेको हो । कम्मरमुनी गोली अड्केको एक्सरे बोकेर खड्का अस्पताल पुगेका थिए । उनले घटनालाई गुपचुप लुकाउन चाहे पनि घटना निकै रहस्यमय देखेपछि अस्पतालमा खटिएको प्रहरीले महानगरीय प्रहरी ललितपुरलाई खबर गरेको थियो । खड्काले आफूमाथि आइतबार बेलुकी पाटन अस्पताल पछाडि गोली लागेको तर कस्ले हानेको भन्ने बारे केही थाहा नभएको बताएका छन् । संयोग कस्तो पनि मिलेको छ भने खड्कालाई गोली लागेकै घटना सार्वजनिक भएको दिन मंगलबार विहान ललितपुरस्थित एजप्सन चर्चमा रहेको एउटा गाडी र एउटा मोटरसाइकलमा अगजनी भएको थियो। प्रहरीले गोलीकाण्ड र यो आजगनीलाई पनि एकसाथ जोडेर अनुसन्धान थालिरहेको छ ।

ललितपुरका एसएसपी ठूले राईका अनुसार घटना निकै रहस्यमय देखिएको छ । खड्काले किन घटना लुकाउन खोजे भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत चैत २९ गते काठमाडौंमा गुण्डा नाइके दावा लामाथि गोली प्रहार भएको थियो । सीसीटिभीको भिडियो भेटिए पनि गोली हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन् । न त गोली हान्न लगाउनेकै पहिचान भएको छ ।

एकपछि अर्को गर्दै काठमाडौंमा गोलीकाण्ड बढे पछि प्रहरीले सतर्कता अपनाएको छ ।

६ बैशाख २०७४, बुधबार ०३:३१ मा प्रकाशित