६ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई दिने दोस्रो किस्ताको रकम जिल्ला-जिल्लामा पढाएको छ । पहिले दोस्रो किस्ता नपाएकाहरुले पाउने गरी प्राधिकरणले कार्यविधि सच्याउने गृहकार्य थालेको छ ।
जिल्लामा पुर्‍याइएको रकम जनशक्तिको अभावमा भूकम्प पीडितका हातमा नपुगेको प्राधिकरण बतायो । अनलाइखबरसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले दोस्रो किस्ता चाँडै बाढ्नुृ पर्छ भनेर प्रभावित जिल्लामा १२ अर्ब लगेर राखेको, तर वितरण गर्न नसकेको बताए ।दोस्रो किस्ताको रकम जिल्लामा लगेर थुपारिए पनि पीडितलाई वितरण गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा मंगलबारसम्म ३५ हजार परिवारले दोस्रो किस्ता माग गरेका छन् । तर इञ्जिनियरको अभाव, अन्य विभिन्न प्राविधिक कठिनाइले दोस्रो किस्ता बाँड्न नसकी ठूलो रकम जिल्लामै थन्किएको छ ।

प्राधिकरणले अहिलेसम्म करिब १३ हजारलाई मात्रै दोस्रो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

झञ्झटिलो कार्यविधि सच्याइँदै

दोस्रो किस्ताको रकम पाउन पूरा गर्नुपर्ने झञ्झटिलो कार्यविधिका कारण पीडितहरुले रकम पाउन नसकेका हुन् ।

पहिलो किस्ता पाउनेहरुले बनाएको घरको अनुगमन गरेर दोस्रो किस्ता सिफारिस गर्नुपर्ने इञ्जिनियरहरु जिल्लामा अपुग भएकाले ३५ हजार आवेदकले दोस्रो किस्ता पाउन नसकेका हुन् ।

स्थानीय तहसम्म इञ्जिनियरको अभाव र अन्य विभिन्न प्राविधिक कठिनाइले दोस्रो किस्ता दिन नसकिएको डा. पोखरेल बताउँछन् ।

प्राधिकरणले कार्यविधिमा रहेको कठिनाइ हटाएर सहज बनाउने निर्णय गरेको छ । अब उक्त कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेलगत्तै भूकम्प पीडितले सहजरुपमा दोस्रो किस्ता पाउने सिईओ पोखरेलको भनाइ छ ।

 

६ बैशाख २०७४, बुधबार ०६:०३ मा प्रकाशित