काठमाडौ, बैशाख ६ – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भारतले राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिएको बताएका छन् ।
मन्त्री महतले भारतले राष्ट्रपति भवनमै राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’जस्तो उच्च सम्मान दिएको स्पष्ट पारेका छन् ।
राष्ट्रपति भण्डारी तथा भारतीय राष्ट्रपति/प्रधानमन्त्रीसहितको उच्च भेटवार्तामा सहभागी भई बुधबार स्वदेश फर्किएका महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भारतीय उच्च नेतृत्वले राष्ट्रपतिसँग सदभावनापूर्ण शिष्टाचार भेट गरेको बताए ।

मन्त्री महतले भारतको विमानस्थलमा राज्यमन्त्रीले राष्ट्रपतिलाई स्वागत गरेको विषयलाई लिएर अनावश्यक टिप्पणी नगर्न संचारकर्मीसँग आग्रह पनि गरे । उनले भारतीय राष्ट्रपति भवनमा दिइएको गार्ड अफ अनरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत पुरै समय सहभागी भएर उच्च सम्मान व्यक्त गर्नुले भ्रमण सफल भएको पनि बताए ।

उनले भने – “नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।” हामीले यस्तो अनर विमानस्थलमै दिने गरेकाले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति पनि उपस्थित हुनुभएको मन्त्री डा महतले स्पष्ट गरे ।

मन्त्री महतले भारतीय राष्ट्रपति प्रवण मुखर्जी र प्रधानमन्त्री मोदीले नेपालको शान्ति र समृद्धिमा सदा साथ रहने प्रतिवद्धता राष्ट्रपति भण्डारीसँगको भेटमा व्यक्त गरेको जानकारी दिए ।

उनले भारतीय नेतृत्वले नेपालमा चुनाव हुन्छ र ? भन्ने खालको कुनै चासो नदिएको पनि स्पष्ट पारे । राष्ट्रपति भण्डारीले भारतीय नेतृत्वलाई नेपाल संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र तीनवटै तहको निर्वाचन सम्पन्न भएपछि विकास निर्माणको कामले गति पाउने विश्वास दिलाएकी थिइन् ।

डा महतले भने, “दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।”
भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री डा महतले दिए । “उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ”, डा महतले बताए ।

राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मङ्गलबार रातिसम्म सम्पन्न भएपछि मन्त्री डा महत आज स्वदेश फर्किएको उनका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले विज्ञप्तिमार्फत जानकारी दिए ।