डि. बि. बुढाथोकी/सुनौलो नेपाल
धुर्मुस सुन्तली फाउन्डेसनबाट आमन्त्रण गरिएको महत्तरी मुसहर बस्ती हस्तान्तरण कार्यक्रमको लागि हामीहरु चैत्र ३१ गत्ते बिहिवार बिहान करिब आठ बजे कोटेश्वरबाट हिडेका थियौ । बर्दिवास पुगेर होटलमा सामान राखी वस्ती तिर भिजिट गरौ भन्ने मनसायले वस्ती पुग्दा साझ पर्नु लागेको थियो । वस्ती भित्र सुन्दर आधुनिक डिजाइनका सुसज्जित त्रिपन्न वटा घर, जताततै बत्तीको झिलिमिली बालमैत्री वातावरण अनि त्यो एकीकृत वस्तीलाई एकै ठाउँबाट हेर्न सकिने अग्लो एउटा भ्यू टावर, लाग्थ्यो गरिब अति विपन्न समुदायलाई सुन्दर सपनाको महल ठडाइदिने यी हास्य कलाकारलाई के दर्जा दिउ म, कसरी यि दुइलाई सम्बोधन गरु ! मनभित्र यस्तै कुरा खेल्दै थिए। नजिकै मानिसहरू झुम्मीरहेको देखे, के रहेछ भनी म पनि भिड तर्फ गए ।

हामी भन्दा पहिला पुग्नु भएका सञ्चारकर्मी क्यानडा नेपालका साथीहरुले उनै परोपकारी जोडिको अन्तर्वार्ता लिदै गरेका रहेछन् । निर्माणकार्यको अबधीमा आएका बाधा अर्चनको बाबजुद पनि आफ्नो लक्ष पूरा गरि मुसहर वस्ती मुसहर वासीलाई उपहार स्वरुप दिएको खुशीले होला, दुबैको अनुहार आसुले ढाकिएका थिए भने केही बेर पश्चात् अर्को ग्रुप जहाँ मादल, ढोल, खैचडी आदि बजाउदै बडो रमाहटमा निस्केको देखे । उनीहरु उहीँ थिए जस्का खुशी र सुन्दर महल धुर्मुस सुन्तलीले ठडाइ दिएका थिए । उनीहरु आफ्नो खुशीको बहार नृत्यबाट प्रकट गरेका थिए । उनीहरुको त्यो खोशी सायद जीवनमा पहिलो पल्ट थियोे होला नभनी राख्न सक्किन्न ।