दुबई । युएईमा रहेर पनि नेपाली नेपाली सुगम संगीतको पप तथा आधुनिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाउँदै आएका झापाका रनु जबेगुले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ’ बोलको उक्त गीतको रचना तथा संगीत गायक स्वयम् जबेगुको रहेको छ ।

तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ
तिम्रो चोखो माया पाउन भनी आएँ

गायक जबेगुले ६ महिनाअघि युएईबाटै ‘आउ मेरो…’बोलको श्रुतिमधुर गीत सार्वजनिक गरेका थिए । ‘ट्रायल’ एल्बममा समाविष्ट उक्त गीतको सफलताले अर्को नयाँ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको रनुले बताएका छन् ।

नेपाली गीतसंगीतलाई माया गर्दै आफ्नो कला बेलाबखत प्रस्तुत गर्दै आएका गायक रनू जबेगुको यो गीत मिठो मेलोडीमा सजिएको छ । यस गीतको म्युजिक भिडियोको छायांकन दुबईका रमणीय स्थानहरुमा गरिएको हो । गीतको म्युजिक अरेन्ज आकाश गोर्खालीको रहेको छ । भिडिओमा राना अलेक्स ‘सुरेश’ र पूजा तामाङको अभिनय रहेको छ भने ब्यान्ड अपेरियन्समा ड्रममा निओन लिम्बु, रिदममा सुदिप तामाङ, र बेसमा कविराज लाम्गादे रहेका छन् ।

उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । रुनु विगत सात वर्षदेखि यूएईमा कार्यरत छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि निरन्तर रुपमा युएईबाटै कर्णप्रिय गीतहरु सार्वजनिक गरिरहेका छन् ।

रोजगारीका लागि परदेसिएकाहरुले पनि स्तरीय म्युजिक भिडियो दिनानुदिन सार्वजनिक गरिरहेका छन् । पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियोकर्मीहरु यूएई आएर काम गर्न थालेका छन् भने केही अनुभवी कलाकर्मीहरुको अथक प्रयासबाट हेर्नलायक म्युजिक भिडियो बनाउन थालेका छन् । रनुका गीत तथा भिडियोहरु पनि उत्कृष्ट सिर्जनाभित्र पर्न थालेका छन् । गायक रनुलाई उज्जवल सांगीतिक भविष्यको अग्रिक शुभकामना छ ।