कोरा आश्वासन र उधारो सहानुभूतिको परिणाम डरलाग्दो हुन सक्छ ।

नबराज क्षितिज/सुनौलो नेपाल 

झन्डै बीस बर्षपछि भएको स्थानीय निर्वाचनमा आफ्नो मत हाल्न ९६ बर्षिय मेरी हजुरआमा पनि जानुभएछ ।
यो वा त्यो बहानामा बनाएर देशलाई बन्दक बनाईराख्ने राजनैनिक पार्टीहरुसँग मेरि हजुरआमाको नफ्रत छ । मतदान केन्द्र घरबाट तीन किलोमिटर हिडेर झन्डै आधाघण्टाको बाटो उक्लिएपछी भञ्ज्याङमा भएको जनप्रिय प्राथमिक बिधालयको प्राङ्गणमा रहेछ ।
बीस बर्ष भनेको छोटो अबधि होइन । कोरिया लगायत अमेरिका, चीन जस्ता देशहरुले बीस बर्षमा बिकासको गतिमा २० वटा पखेटाहरु हालेर बिकासको आधा भन्दा धेरै आकाश ओगट्न सफल भएको अबधि हो । हाम्रो जस्तो देशमा बीस बर्ष भनेको बच्चा जन्मिएर किशोर अवस्थासँगै हुर्किएको अवयब र लज्जाहरुले ती किशोर किशोरीहरुलाई थिच्न थालिसक्ने अबधी हो ।
यति लामो समयपछि भएको स्थानीय निर्वाचनमा परिवर्तन चाहने धेरै नेपालीहरु जस्तै मेरी हजुरआमाको पनि खुट्टामा फुर्ति टाँसिएछ क्यार ! बडो उत्साहका साथ भोट हाल्न जानुभएछ । बैशाख मसान्त , धर्ती नै फुटाइदेलाझैं गरेर घाम घाम लागेको छ । गर्मी त हुने नै भयो । मलाई भने हजुरआमा भोट हाल्न जानुभएको कुरा सुनेर एक मन त खुसी लाग्यो । जीवनको उत्तरार्धमा आफुलाई मन परेको जनप्रतिनिधिलाई भोट हालेर चुन्न पाउनु हामी नेपालीहरुको लागि गर्बको कुरा हो भनेर लाज मानिमानी भनिरहनु परेको छ ।
                                          लेखक
उमेरले आठ दर्जन हिउँद निलिसक्नुभएकी मेरि हजुरआमालाई दम र चिनी रोगले दश बर्ष अगाडि देखि नै मीत लगाएका थिए । त्यसैले पनि मेरो मन अर्कातिर आत्तिएको थियो । हजुर आमालाई केही भैहाल्छ कि भन्ने चिन्ताले मेरो मन भित्र नुन र चुक साँधेंजस्तै भयो । दिनभरी काममा ब्यस्त भैरहे पनि मेरो मानसपटलमा हजुरआमाको याद पटकपटक ठोक्किरह्यो ।
जब म कोठामा आएँ र घरमा फोन गरें । हजुरआमा सँग लामै कुरा गर्न मन थियो मलाई । जीवनको उत्तरार्धमा मतदान गर्नुभएकी मेरि हजुरआमाको अनुभव र अनुभुतिहरु सँगाल्नु थियो । मेरो मस्तिष्कमा हजुरआमाको अनुभवहरु कैद गर्नु थियो । ” हजुरआमा दर्शन !” पातलो सुन्नुहुन्छ कानले सायद सुन्नुभएछ क्यारे । “चिरञ्जीवी भएस् , माइलो होइनस् दुबईबाट? स्वर त त्यस्तै लाग्छ , कहिले आउँछस् घर? म त डाँडा माथिको घाम भैसकेकी छु । अस्ताउन बेर लाउन्न , छिट्टै आइज बाबै ! ” हजुरआमा एकोहोरो बोलिरहनु भयो । म सँग बोलेपछि हजुर आमाको कुरै यहि हुन्छ र हजुरआमाको यस्तै कुराहरुसँग म अभ्यस्त भैसकेको थिएँ । ” दशैंको अनुहार नदेखेको धेरै भैसक्यो , दशैंमा आउँछु हजुरआमा” मैले उत्तर दिएँ ।
भोट हाल्न जानुभएछ कुन पार्टीमा भोट हाल्नुभयो तनि ? यो उमेरमा जस्लाई भोट हाल्नुभए पनि तिनिहरुले तपाइको आशीर्वाद पाउनेछन् ।भन्नुस त हजुरआमा कुन पार्टीलाई भोट हाल्नुभयो? मैले सोधिहालें । ” जुन पार्टीमा हालें पनि हालें ,तलाई किन भन्नुपर्यो? बोलिमा घुर्की दलिहाल्नुभयो हजुर आमाले । म जस्तो बुढाबुढीलाई जस्ले हेर्छन् तिनैलाई भोट दिएँ ।” हजुर आमाको बोली खस्न नपाउदै मैले सोधिहालें – कुन कुन पार्टीले हेर्लान् त हजुरआमा बृद्धअबश्था भएकाहरुलाई ? ” जुन जोगी आए पनि कानै चिरेका त होलान् नि ! तर पनि हालें । ” भावुक हुँदै हजुर आमाले भन्नुभयो । हजुर आमाले गोप्य  मतदान त गर्नुभएकै हो , मसँग पनि यहि पार्टीमा भोट हालें भनेर खुल्न चहानुभएन । गोपनीयताको मामलामा हजुरआमा निकै सजक हुनुहुन्छ ।
बीस बर्षपछि यो उमेरमा भोट हाल्न पाउनुभएको छ , नेपालकै भाग्यमानी मान्छे तपाईं ! मैले पनि पाउरोटीमा मख्खन दलेर सोधें, हजुरआमासँग  । ” के भाग्यमानी के नभाग्यमानी त्यस्तो कुरा न अर केटा ! बरु सुन् , दस बाह्र दिनदेखि नै फरक फरक मान्छेहरु भोट माग्न आथे । कसैके के दिन्छु भने कसैले के भने तर तिनिहरुको कुरा सबै पत्याउनु हुँदैन , छिमली छिमली पत्याउनु पर्छ ।” हजुर आमा बोलिरहनुभयो ।
लोकतन्त्रको फाइदा उठाउँदै धेरै ठुला कुराहरु गरेछन् कि क्या हो हजुरआमा? मैले सोधें । “निर्दल र बहुदलमा के फरक छ र? प्रजातन्त्र र लोकतान्त्रमा के फरक छ र ? पहिला पनि सोझा निमुखा जनताको शोषण दमन गरेकै हुन् अहिले पनि त त्यस्तै छ नि । के फरक देखेको छस् ए केटा तैंले ? बाक्लो निराशा सहित हजुरआमाको प्रतिप्रश्न आयो ।
हजुर आमाको यो कुराले मलाई निकैबेर सोच्न बाध्य तुल्यायो । साँच्चै नै देशमा भैरहेको भ्रष्टाचार, अनियमितता र ब्यतिथीहरु जनताले बिस्कुन सुकाए जस्तै सुकाइदिनुपर्छ यहि चुनाबमा यहि हो गज्जबको मौका मैले सोचिरहें ।
“राजनीति पनि ठिक लाग्न छोड्यो आजभोलि त ! राजनीतिमा एक जनालाई  सहि लागेको कुरा बोल्न नपाउने रहेछ होइन? अस्ति प्रधान न्यायाधीशलाई महाअभियोगको प्रस्ताब दर्ता गर्ने बेलामा शेखर कोइरालालाई मन परेको रहेन्छ तर पनि उनी बोलेनन् चुप लागेर बसे । ” हजुर आमाको यो ब्याङ्ग्य मैले बुझिसकेको थिएँ ।
कसरी थाह पाउनुभयो हजुर आमा यस्तो कुराहरु ? उत्सुकताका साथ सोधें मैले ।
आजभोलि त टि भिले छिन्छिन् मै समाचार बोलिरहन्छ्न् नि केटा ! उबेला पो केही थिएन र आजभोलि त के के हो के के ? तेरो दुबईमा के के हुदैछ हाम्रो घराँ टि भीले बोलिहाल्छ नि केटा ! ” यो पटक हजुरआमा अलि धेरै बोल्नुभयो तर सहि पनि बोल्नुभयो । संचार माध्यमको सुबिधाले पूरै बिश्वनै सँघुरिएर एउटा गाउँमा सीमित हुन पुगेझैं लाग्छ मलाई ।
“तेरो मोबिलमा पैसा कति छ केटा कुरा लामै छ ।” भन्नुस् न हजुर आमा मैले सुनिरहेको छु । मेरो कुरा सुनेपछि फेरि भन्नुभयो ” मेरी बाबै भोट हाल्ने लाइन कति लामो हो? त्यस्तो घाममा ! म बिहान सात बजेदेखि लाइनमा बसेकी थिएँ दिउँसो बाह्रबजे मात्र पालो पाइँ । हामी जस्तो बृद्धअबश्था भएकाहरुलाई छुट्टै लाईन पनि देखिन मैले त । छुट्टै लाइन बनाएर छिटो भोट हाल्ने ब्यवस्था गराइदिन भन केटा सरकारसँग । आजभोलि त हेल्लो सरकार कि के छ रेन्त जनताको गुनासाहरु सुन्नलाई । अर्को चुनावमा म जस्ता बृद्धअबश्था भएकाहरुले सकस नपाउन भनेर सुनाइदे है ।”
मेरो कुरा सरकारले के सुन्थ्यो र?  तर पनि हजुर आमालाई भने सुनाइदिन्छु भनेर एक्छिन मख्ख बनाइदिएँ । हजुर आमाले फेरि भन्नुभयो ” हैन यो भोट हाल्न जाने मान्छेहरु मरेका छन् रे मारेका छन् रे कतै कलाकार मारेको कुराहरु सुनिन्छ । हैन, भोट हाल्न जानेहरुलाई ( मतदाताहरुलाई) सरकारले जीवन बिमा गर्नु पर्ने होकि होइन ? तिनका बालबच्चाहरु त बिचल्लीमा पर्ने भए नि ! मुलाई त सरकारले जीवनबिमा नगरेर गल्ती काम गरे जस्तो लाग्दैछ , यो कुरा पनि सरकारलाई सुनाइदे केटा । अर्को चुनबमा यो बिमा कार्यक्रम लागू होस् ।”
हजुर आमाको यो कुरा सुनेर म स्तब्ध भएँ ।साँच्चै मतदान गर्न गएकाहरु विभिन्न बहानामा मारिएका छन् । मेरि हजुर आमाको कुरा निकै मनन्योग्य लाग्यो तर सरकारले हामीले उठाएका कुराहरुमा खासै ध्यान दिदैन्न् किन कि हामी यहि पार्टीको मान्छेहरु हौं भनेर हिडेका छैनौं । तर पनि आशा गर्छु सम्भव भए आगामी निर्वाचनमा सरकारले मतदाताहरुको जीवन बिमा गरिदिए राम्रो हुन्थ्यो ।
“हेर्दा सुन्दर देखिनेहरु सबै असल कहाँ हुन्छन् र केटा ! मुखमा चिल्लो घसेर लालिपप मिसाएर भोट माग्न आउनेहरु जितिसकेपछि गाउँ फर्किएर न आएका उदाहरणहरु धेरै छन् । ती कुराहरु सम्झनुपर्छ । सबै चम्किने बस्तुहरु हिरा हुँदैनन् केटा, अनि सबै रंगीन देखिने चराहरु मयुर हुँदैनन् है बिचार गर्नुपर्छ ।” हजुर आमा बोल्दै हुनुहुन्थ्यो ।
” कुमारी आकांक्षाहरु बोकेर भोट हाल्न गएका नौजवानहरुले कहाँ होट हाले कुन्न
कुन्नि ? हाम्रालाई नहेरी राम्रालाई हेर्नुपर्थ्यो । हुनत जस्लाई जिताए पनि अब जित्नेहरुले – पाल भित्रै जिबिका चलाइरहेकाहरु र खरको छानो उडाएर उन्युले बारेको बार पनि च्यातिन लागेका घरहरुलाई हेरोस् । भुकम्पले क्षतबिक्षत पारिदिएको मनहरुलाई पुग्ने गरि मल्हम पट्टि लगाइदिओस् ।
राजनीतिमा आचारसंहिता नै रहिन्छ हेर केटा ! मौन समयमा चुनाबी नारा गाउदै घर घर भोट माग्न गएकाहरु पनि देखियो  । कस्तो परिभाषा सुहाउछ यो राजनीतिलाई ? राजनीति त पुरै लाजनीति भएछ बाबै !” अलिकता आक्रोश सुनियो हजुर आमाको बोलिमा ।
 अझ अगाडि बोल्न थाल्नुभयो  ” जे भए पनि अहमको थुम्कोमा बसेर राजनीति कतिबेर चल्छ र? जित्नेहरुले हार्नेहरुसँग घमण्ड गर्ने होइन र बदला पनि लिने होइन । हातमा हात र काँधमा काँधमा मिलाएर हिड्नुपर्छ तब न देशको बिकास हुन्छ , भनेर बुझाइदिएस् केटा राजनैतिक दलहरुलाई ।” म सोचिरहें मेरी ९६ बर्षीय हजुरआमाको सोचाई यी राजनीति गर्नेहरुको सोचाई भन्दा कति माथि छ कति ।धन्य मेरी हजुरआमा । तपाईं बुढी भैसक्नुभयो । राजनीति त तपाईं जस्तो ब्यक्तिले गर्नुपर्थ्यो मन मनै सोचिरहें ।
बर्गहिन समाजको सपना बाँडेको माओबादी केन्द्र आफै बर्ग-बर्गमा भिभाजन भएपछि , यो चुनाबमा माओबादी केन्द्रको अवस्था पनि छर्लङ्ग देखियो …. सुन् केटा” ( हजुर आमा बोल्दै हुनुहुन्थ्यो ) ।” एउटा रमाइलो पक्ष के भयो भने राजनीतिमा असम्भव कुराहरु सहजै सम्भव बनाउँदा रहेछन् । प्रधानमन्त्री प्रचण्ड र काँङ्रेस सभापति शेरबहादुर देउबाले भरतपुर महानगरपालिकाको लागि गरेका सम्झौताहरु राजनीतिमा बिरलै पाइने घटनाहरु हुन् । भलै माओबादी केन्द्रका कार्यकर्ताहरु खुसी भए पनि काँङ्रेसका कार्यकर्ताहरु पटक्कै खुसी थिएनन् । यो सत्य कुरालाई नेतृत्वबर्गले बेलैमा बुझ्न नसक्दा परिणाम आफैलाई घातक हुने कुरा खै बुझेको ? बरु भरतपुर महानगरपालीकाका मत पेटिकाहरु सबै नारायणीमा बगाइदिने र प्रधानमन्त्री पुत्रीलाई महानगरपालीकाको मेयर बनाईदिने तथा प्रधान मन्त्रीले शेरबहादुर देउवालाई तुरुन्तै ठाउँ खाली गरिदिने सम्झौता किन नगरेका होलान् ?” मेरि हजुरआमाको यो ब्यङ्ग्यभित्र अथाह प्रश्नहरु ज्युँका त्युँ छन् ।
हजुरआमा फोनमा बोल्दै हुनुहुथ्यो । मेरो मौनता सुनेर मलाई बेलाबेलामा बोलाउनुहुन्थ्यो ” तँ सुन्दै छस् ?” हो हजुरआमा सुन्दैछु भन्नुस् न ! मैले सुनिरहेको जनाउ दिएपछि फेरि भन्न थाल्नुभयो  ” यो चुनावमा उठेका उमेदवारहरु मध्ये केही मात्र सच्चा देशप्रेमी र बिकासप्रेमी छ्न् । अरु धेरै त भिडभाडमा हिस्सा ओगट्नेहरु मात्र हुन् । त्यसैले पनि निकै सोचेर मात्र भोट दिनुपर्छ ।अर्को पटक चुनाब हुँदैछ , मतको सहि सदुपयोग होस् भनेर ।
थाह छैन २० बर्ष पछि बल्लतल्ल स्थानीय निर्बाचन हुदैछ । अर्कोपटक चुनाब हुन यो वा त्यो बहानामा २० बर्ष लाग्यो भने हामीले धेरै मुल्य चुकाउनुपर्ने हुन्छ र त्यतिनै पछुताउनु पर्ने पनि हुन्छ । त्यसैले पनि हाम्रालाई होइन राम्रालाई मत दिनुपर्छ भनेर सबैले बुझ्नुपर्छ “
मेरो मोबाइलमा ब्यालेन्स सकिनै लागेको संकेत पाएपछि मैले हजुरआमालाई कुरा छोट्ट्याउन आग्रह गरें ।  हजुर आमाले छोटकरीमा भन्छु भन्दै यसो भन्नुभयो ।”स्वाभिमान बन्दक राखेर हामी बिक्नु हुँदैन । मान्छेको पाउ छुन सजिलो छ तर मन छुन गाह्रो छ । चुनाबको बेला मात्र शिष्टाचारको औलाहरु जोड्नेहरु लोकचारीहरु हुन् । लोकचारले मानिसलाई भुलाउँछ तर हामी भुल्नु र अल्मलिनु हुँदैन ।चुनाबमा हात जोडेर भोट माग्नेहरु चुनाब जितेपछी हामी खोज्दै जाँदा पनि भेटिदैनन् । यस्तो गल्ती नदोहोरियोस् ।
स्थानीय चुनावमा जस्ले जिते पनि बूढो र अन्धो संकृती र परम्पराको बिरोधमा चर्को आवाज उठाउन जरुरी छ । गाग्री छोइएकै निउँमा पिटिएका सिराहाका तीर्थलाल बि. क हरुजस्ताको विभेद अन्त्य गर्न पहल गरियोस् । संबिधानमा स्पष्ट उल्लेख भए पनि यो छुवाछूतको विभेद व्यबहारमा अझ अन्त्य हुन सकेन , यसलाई कडाईका साथ अन्त्य गर्न पट्टि लागोस् ।” हजुर आमाको कुरा सुन्दै थिएँ तर मेरो मोबाइलको पैसा सकिएछ ।
हजुरआमाको धेरै कुराहरु सुन्न बाँकी नै थिए होलान् तर जति सुन्न भ्याएँ निकै महत्वपूर्ण कुराहरु सुनें । मेरी हजुरआमा जस्ता धेरैले देशमा राजनीति गरेका भए आजको दिनमा ४० लाख भन्दा धेरै युवाहरु रोजगारीको भोकले बिदेश जानू नै पर्थेन होला । मैले यस्तै यस्तै सोचिरहें ।
बिजय कुमारले आफ्नो “खुसी” मा लेख्छन् “मान्छेलाई तालीले मत्याउछ र गालीले अत्याउछ ।” सहि कुरा हो । अहिले जितेकाहरु ताली पाएर नमात्तिनुस् ,  भोलिका दिनहरुमा जनताको चाहना अनुरुप काम गर्न नसक्दा आतिनु पर्ला । भविश्यका संभाबित घटनाहरुलाई पनि मध्ये नजर राख्ने गरौं । कोरा आश्वासन र उधारो सहानुभूतिको परिणाम डरलाग्दो हुन सक्छ । यता तिर पनि सोच्ने कि ?

३ जेष्ठ २०७४, बुधबार ०९:०८ मा प्रकाशित