चितवन,वैशाख ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि गृहजिल्ला चितवन आउने भएका छन् ।

रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्न चितवन आउन लागेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरी प्रसाद ढकालले भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने कुरा चितवनबाट टेलिफोनमा जानकारी दिए । उनका अनुसार रामपुरमा भोलि दिउँसो १२ः३० भवन उद्घाटन गरिने छ ।

मेयरमा उठेकी छोरी रेणुको ‘पोजिशन’बारे जानकारी लिने

यस्तै, प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा उठेकी छोरी रेणु दाहालको चुनावी मतपरिणामको ‘पोजिशन’बारे अध्ययन तथा जानकारी लिने र कुनै हालतमा जिताउनका लागि आवश्यक पहल थाल्ने सा्रेतको दावी छ । माओवादी उच्च स्रोतले रेणु दाहालले ८ देखि १२ हजार मतअन्तरले जित्ने दाबी गरेका छन् । यसबीचमा प्रधानमन्त्री पनि चितवन पुग्न लागेका हुन् ।

भरतपुरको मतपरिणाम सार्वजनिक गर्न बन्द

यसैबीच प्रधानमन्त्री चितवन आउने तयारी भइरहेका बेला आज विहानैदेखि भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ । यस अघिसम्म एक–एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहिबार ९ बजेदेखि सार्वजनिक भएको छैन । बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए । त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन् । मतगणनाको सुरुदेखि नै उनी पछाडि छिन् ।