20161106_042937

डि. बि. बुढाथोकी 

हजुरबुबा गाउँ देखि जिल्ला सम्मै चिर परिचीत ब्याक्ति भए पनि छुट्टीएर बसेका थिए भने बुवा जहिले इन्डिया रहने कारणले ठुले घरमा आमालाई सघाउदै धेरै दु:ख गरि पढ्दै हुर्केको थियो। समय सँगै जवानी पनि बढ्दै गयो ठुलेको । घरमा भाइ बहिनी सानै थिए । बुबाले घरमा आमालाई अनि भाइबहिनीलाई सहयोग नगरिदिदा ठुले सधै चिन्तित देखिन्थ्यो । लक्का जवान हुँदै जादा जनयुद्धको चपेटामा परेको गाउँ घर बस्नै उनलाई अप्ठ्यारो भयो। उ भन्थ्यो बरु मजदुर गरि कमाएर सामान्य जीवन यापन गरौला तर कुनै राजनीति दलको पछि लागेर भ्रमको बिजारोपन गरि अनैतिकताको कटनी गर्नु छैन। थाहा छैन किन यस्तो भन्थ्यो, मेरो अड्कलमा सायद उसैको हजुरबुबा पञ्चायती ब्यबस्थामा जिल्ला पञ्चायत सदस्य देखि लिएर गाउका प्रधान पञ्च पनि भएका थिए । सायद आफ्नै हजुरबुबाको क्रूर शासकत्व देखेर हो वा गाउँका भ्रष्टहरुको अराजनीतिक देखेर भन्यो ।
गाउँकै माओवादीका भ्रष्ट भरौटेहरुले माओवादी जनसेनामा लिएर जाने भनेर ठुलेको नाम दिएका रैछ्न । अब झन उ माथि आपत आइ पर्‍यो । यहि कारण उसलाई गाउँमा बस्न गार्‍हो भयो । कहिले दाङ्ग मामा घर त कहिले काठमाडौ बस्दै गर्दा धेरै चुनौतीको सामना गर्न पर्यो । कहिले भोकभोकै गाडीमा यात्रा गर्थ्यो त कहिले केही काम गरि जसोतसो दिन गुजार्थ्यो ।

नेपाल बस्नै गाह्रो हुँदै गएपछि ज्यान बचाउनै भए पनि बिदेशीनु उनको बाध्यता थियो । जसोतसो पैसा जोहो गरेर पासपोर्ट बनाई गाउँकै एजेन्टलाई बिदेश पठाइदिन अनुरोध गर्यो, भन्या जस्तै केही महिना भित्रै उसको कतारबाट भिषा पनि आयो । ठुले आफन्त अनि साथीभाइ सँग छुट्टीएर आँसु झार्दै कतारको यात्रा सुरु गर्‍यो । उ त्यो बेला जम्मा अठार बसन्त पार गर्दै थियो । बिदेश गएर के काम गर्न पर्छ ? कस्तो काममा गए राम्रो, कस्तो काम गाह्रो वा सजिलो यी आदि कुरामा उ अनभिज्ञ थियो । उसलाई किन यति सानो उमेरमै पासपोर्ट बनाएको ? के कामको लागि जानलागेको हो ? यस्तो किशोर अबस्थामै किन खाडी मुलुक जान लागेको ? भनेर न प्रंशासनले प्रश्न गर्‍यो, न दलाल देखि म्यान पावरका नाममा मानव तस्कर गर्ने संस्थाले, न श्रम बिभागले, न त आगमन र प्रस्थानलाई व्यवस्थापन गर्दै राज्यको सुरक्षा प्रणालीसंग एकाकार गर्ने नाममा २०४६ साल श्रावण १ गते देखी सुचारु भएको अध्यागमन बिभागले नै सोध्यो । सबैलाई ठुलेबाट पैसा लिनु थियो, पैसा लिएर काम गरिदिए काम सकियो, “आमा तिर मामा न बाउ तिर काका कसलाई के मतलब” भयो ।

सानै उमेरको भएर होला कतारमा ठुलेलाई सबैले सहानुभूति प्रकट गर्थे । कन्ट्रक्सन कम्पनीको लेबरमा गए पनि केही समय पछि ठुलेले फोरमेनको प्यारो भएर राम्रै काम पायो, जसोतसो दुई बर्ष बिताएर ठुले घर छुट्टीमा फर्कियो ।
ठुलेको आगमनले घरको रौनक नै फेरिएको थियो, बा-आमा दिदी भाइ बहिनी घरका सम्पुर्ण परिवार खुशिले गदगद थिए । नहुन्  पनि कसरी ? त्यो बेला अरब भनेको नेपाली मनस्थितिमा अर्कै ग्रहबाट {planet} आएको झै सोचिन्थ्यो । आजभोलि जस्तो ईन्टरनेटको पहुँच थिएन ।
ईन्टरनेटले साच्चै बिश्वलाई सानो बनाइ दिएको छ । जुनसुकै कुनाको खबर पनि क्षण भरमै थाहा हुन्छ । त्यो समय यस्तो कुरो हाम्रो सोचाइ भन्दा बाहिर थियो जस्तो लाग्छ मलाई ।
त्यो बेला हाल खबर थाहा पाउन कि मान्छेको आवतजावत हुनु पर्थ्यो कि त हुलाकबाट चिट्ठी कुर्नु विकल्प अरु थिएन, चिट्ठी आउन दुई देखि अढाइ महिना जति लाग्थ्यो । त्यसैले होला ठुलेको परिवारमा मिलनको त्यो पल अति खुशियाली थियो ।

केही दिन पछि ठुलेका बा-आमाले ठुलेको बिहे गर्दिने कुरा गर्न थाले, ठुलेलाई यो कुरो पटक्कै मन परेको थिएन । उ चाहन्थ्यो अझै केही पैसा कमाएर आफ्नो खुट्टामा उभिएर मात्र बिहे गर्न  । तर बा-आमाले कर गरे पछि अन्ततः बिहे गर्नै पर्ने अवस्था भयो । बा-आमाले नै ठुलेको बिहे गरिदिए, बिहे पश्चात् घर सल्लाह गरेर आफ्नी श्रीमती सँग काठमाडौ अनि गोरखा मनकामना घुम्न निस्क्यो । ठुले धेरै खुशी देखिन्थ्यो । बिहेको दुई महिना पछि मुटु माथी ढुङ्गा राख्दै ठुले आफ्नो प्राण प्यारी सँग छुट्टीएर फेरि कतार फर्कियो । भन्थ्यो मैले उन्लाई बिहे गरेर एक्लो छोडी आउदा कति पीडा भएको होला । ठुले सधै श्रीमतीकै यादमा तड्पिन्थ्यो । उ साच्चै श्रीमतीलाई धेरै माया गर्थ्यो ।

यता ठुलेकि श्रीमती भने ठुले फर्केको छ महिनामै माइत गएर बस्न थाली । घरमा सासु ससुरा यस्ता, नन्द देउरानी  उस्ता भन्दै कम्जोरी औल्याउँदै कुरो काट्दै आमा सँग बस्थी ।
ठुलेका बा-आमाले छोरालाई डिप्रेशन होला भनेर बिदेशमा रहेको ठुलेलाई सबै कुरा सुनाएर टेन्सन दिन चाहादैन थिए । एक दिन दुई दिन गर्दै जादा ठुलेले श्रीमती माइतमा बसेको थाहा त पायो तर कुरो सबै श्रीमतीको मात्र सुन्यो बा-आमाबाट सुन्न पाएन अन्ततः उ बा-आमालाई संकुचित दृस्ठिले हेर्न थाल्यो । केही समय पछि बिरामी भएर नेपाल आयो । श्रीमतीलाई फकाइ फुल्याइ घरमा लियर गयो तर उ घरमा धेरै बस्न रुचाउदिनथी । बा-आमालाई सधै आदर गर्ने ठुले श्रीमतीकै कारण बा आमालाई अपमान गर्न थाल्यो ।
घरमा सँगै बस्दा केही महिना भित्र ठुलेकी श्रीमती दुई जिउकि भैछ ।

ठुले एकातिर खुशी देखिन्थ्यो भने अर्को तिर जिम्मेवारी थपिएको महसुस गर्दै आफ्नो परिवारको सुनौलो भबिस्य खोज्न वैदेशिक रोजगारको लागि दुबई जान सोच्यो ।
दुबई जानू पुर्ब ठुलेले आफ्नी श्रीमतीलाई सम्झाउदै घर बस्न भन्यो र उ दुबई गयो । ठुले दुबई गएको चार महिना सम्म उ माइतीमै आमा सँग बसिरही उता ठुलेलाई रिस उठेपछि बोल्न छोडेको थियो । जब माइतीमै बच्चा जन्मने ब्यथा लाग्यो तब उस्को बाउ अनि दाइ पर्नेले घरमा लिएर गए । ठुलेको घरमै छोरा जन्मियो । केही दिन पछि ठुलेले छोरा जन्मेको खबर पाएपछि पुराना सबै कुरा बिर्सिएर खुशी भयो ।
त्यो समय गाउँमा भर्खरै सिडिएमए फोन सुचारु भएको थियो । जति फोन गरेर सम्झाए पनि ठुलेकि श्रीमती माइतीमा बस्ने बानी सुध्रियन । पुनः माइतीमै बस्न थाल्छे । ठुलेले लगातार फोन गरेर सम्झाउने प्रयास गर्दा पनि केही प्रभाव पर्दैन थियो । यसरी तनावमै ठुलेको पाँच बर्ष बित्यो ।

बिदेशमा बस्ने धेरै नेपालीहरुको घरबार बिग्रेको सुनेकोले ठुले पनि सोच्न बाध्य हुन्छ । अब परिवार सँगै बसेर घरबार चलाउन पर्यो भन्ने मनसायले ठुले दुबईको बसाइ बिट मार्दै नेपाल फर्कियो । आफु पनि केही गर्ने र बच्चालाई पनि राम्रो स्कुलमा पढाउने योजना बनाउदै गाउँबाट श्रीमती अनि छोरालाई काठमाडौ बोलायो । भन्छन् कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रोमा राखे पनि बांगै हुन्छ रे त्यस्तै भयो ठुलेकी श्रीमतीको कहानी पनि, काठमाडौ आयको दुई महिनामै ठुलेलाइ छोडि छोरा लिएर माइतीमै गैछे । यता ठुले दिनभर पसलमा काम गरि कोठामा फर्किदा श्रीमती कोठामा नपाउदा अताल्लियो । कहाँ गइ को सँग गइ भनेर यता उता छिमेकीलाई सोध्दै हिड्यो । उसैको तल्लो फ्लाइटमा बसेको दिदीले भन्दिछन । भाइ मैले देखेको गाउँ देखि उसको भाइ लिन आको थियो । भाइ सँग गाकी छे । यति सुने पछि अलिक तनाब हल्का भयो ठुलेलाई ।

ठुलेलाई धेरै रिस उठेछ क्यारे छ महिना सम्म लिन गएन, उ पनि आएन । साढे छ महिना हुँदै थियो बिचरा ठुले लिन गयो । छोराको लागी भए पनि उ होचिदै गयो । उता भने ठुलेकी श्रीमती र सासूले ठुलेलाई अनेक थरीका अपशब्द बोलेर तथानाम गाली गरेर उल्टै फर्काइ दिए  । नम्र स्वाभावको सोझो ठुले एक्लै फर्कियो । छोरा पनि दिएनन् , पुनः काठमाडौ आएर आफ्नो ब्यापार सम्हालेर बस्यो ।

अब त रिस मर्यो होला गाउँका भद्र भलाद्मीलाई कुरो गर्न लगाएरै भए पनि श्रीमती ल्याउने मन बनाएर ठुले एक बर्ष पछि फेरि लिन गयो, अह गाउँका भद्र भलाद्मी देखि लिएर इलाका प्रहरी चौकीले पाँच-पाँच चोटि सम्म पनि ठुलेको कुरालाई एउटा टुंगो लगाउन सकेनन् । ठुलेकि श्रीमती भन्छे कहिले सँगै बस्छु त कहिले भन्छे डिभोर्स गर्छु । यस्तै छेपारे कुरा गर्दै आलटाल गरेको छ बर्ष भयो उसले ठुलेको खुशीको चिर हरण गराएकी छे । मलाई लाग्छ उ घर धन्दा गरेर खान चाहदैन, ठुलेबाट डिभोर्स गर्न चाहान्छे तर त्यतिकै हैन पैसा लिएर डिभोर्स गर्न चाहन्छे ।

ठुलेलाई गाउँले समाज भद्र भलाद्मी सर्ब साधारणको अगाडि बेइज्जतीको पात्र बनाई दिएकी छे। कति सभा कचरीमा त ठुलेको बेइज्जतीको लास निकाली दिएकी छे । उ भने मौन अनि निरीह छ। यो नै नेपाल पुरुष प्रधान देशमा स्त्री विभेदमा पारियो भनेर स्त्रीको लागि राज्यले कानुनको दस वटा सिङ बनाएको पराकाष्ठा हो । हो म मान्छु कुनै कालखण्डमा पुरुषबाट स्त्री पिडित थिए तर अहिले स्त्रीबाट पुरुष पिडित भएका छन् । नपत्याए राज्यका हरेक अदालतमा गएर बुझ्नुस त्यहाँ हजारौ ठुले यसरि पत्नी पीडित भएर बसेका छन् । बिशेश गरि वैदेशिक रोजगारमा समय बिताएका ठुलेहरु पत्नी पिडित छन् ।  सरकार अब मलाई यो जवाफ देउ तिम्रो यो देशमा जाबो एउटा लोग्ने स्वास्नीको लागि निष्पक्ष कानुन नै छैन भने तिमी दरबारमा बसेर कसरी भन्ने आट गर्छौ? हामीले बिश्वकै उत्कृष्ट संबिधान निर्माण गरेका छौ ?