पूर्णसिङ बम ठकुरी 

माननीय सभासद तथा पुर्ब जनमुक्ति सेना नेपाल डिभिजन कमान्डर महेन्द्रबहादुर शाही ‘क.प्रज्वल’ ज्यु ।

प्रवासको यो मरुभूमिको तातो घामबाट रक्तिम लाल अभिबादन ।

अतीत र बर्तमानका सुनामीहरु यो मस्तिष्कमा चलिरहदा प्रबासको मरुभूमिबाट तपाईंलाई एक चिठ्ठी लेख्न मन लाग्यो । विशेष त कर्णाली कालिकोटको म गरिब बस्तीको मान्छे, त्यसमा पनि पिछडिएको पलाताको थिर्पुमा जन्मेको मान्छे । खै कुन शब्दबाट उठान गरौ, म यो पत्र लाई । युद्दको भुमरीबाट सपनाहरु साकार पार्न पत्रको उठान गरौ भने युद्द बिराम भएको छ, उन्मुक्तिको उज्यालो बस्तिबाट पत्रको उठान गरौ भने त्यो बिकट मेरो बस्ति अझै अध्यारोमा छ ।

कर्णालीको मुक्ति अभियान लिएर कमरेड प्रज्वलको उपमा भिरेर युद्दको रणमैदानमा हजुरको कुदेको दिन झल्झल्ती सम्झन्छु । बर्ष फेरिए, महिना फेरिए, दिन फेरिए तर पनि मेरो कर्णाली अनि कालिकोटको मुहार उस्तै नफेरिएको छ। हजारौं हजार सहिदको बलि अनि रगतको खोला बगाएका महान सहिदको सपना एउटै थियो, ‘देस र जनताको उन्नति र बिकास सँगै राजाशाह, तानाशाह अनि सामन्ती सासकहरुको अन्त्य हुनेछ तर राजा र तानाशाहहरु मुन्टो लुकाएर बसे पनि सामन्तीहरु ज्युदै शिर ठड्याएर उभिएको देख्छु, शायद आँखामा दृष्टिभ्रम त भएको छैन होला ।

भन्न त भनिन्थ्यो नि, केही पाउनको लागि केही गुमाउनु पर्छ तर कर्णालीले सबै गुमायो, अझै केहि पाएन । अझ स्पष्ट भन्नै पर्दा हामी सौतेनीको ब्यवहार भोगिरहेका थियौ त्यो राजधानीबाट अझै भोग्ने क्रमजारि छ । त्यो राजधानीले कर्णालीलाई नहिजो देख्यो, नआज देख्न चाहन्छ, भोलि देख्छ कि नाइँ थाहा छैन, बरु कर्णालीको सपना देख्ने कर्णाली बासिलाई नै राजधानी मै रनभुल्लमा पार्ला कि भन्ने डर छ ।

हामी संग बिकासका सम्भावना यति धेरै हुदाहुदै पनि उपयोग गर्न सकेका छैनौ, तपाईंलाई थाहै छ, त्यो से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा, रारा राष्ट्रिय निकुञ्ज मुगु, थुप्रै पर्यटकीय हिमाल, अथक जडिबुटीको उत्पादन हाम्रा प्राकृतिक निशानिहरु हुन्, जलविद्युतको मुहान कर्णाली नदि दिनहुँ बगेर खेर गैरहेको छ, कर्णालीमा फल्ने स्याउ, नास्पती, अंगुर, आरु, अन्य फलफुलहरुको उचित बजार व्यवस्थापन नपाएर कुहिएर गएको छ ।

कर्णाली नदि मुनाफाहिन त्यतैकै बगिरहेको छ, उत्पादन भएका साना जलविद्युत आयोजना पनि राम्रोसँग संचालनमा आयका छैनन् । अब भन्नुहोस सभासद् ज्यु त्यसको जिम्मेवारको हुन्छ? हाम्रो भोटको हकदार तपाईं अनि कर्णालीको उन्नतिको जिम्मा तपाईं होइन? कर्णालीको अध्यारोलाई चियो गर्नु भएको छ ?

जमाना सूचना प्रबिधिको छ तर कालिकोटबासीहरु फोनको नेटवर्क खोज्न डाँडामाथि चढ्नु पर्छ! यो विडम्बना कहिले सम्म हुन्छ सभासद् ज्यु ?

यो भन्दा अघिल्लो बर्ष फुटबल आयोजना पनि गरिएको कालिकोटको थिर्पु र नानिकोट गाबिसको बिचमा पर्ने घाटचौरलाई खेलमैदानको रुपमा विकाश हुन सकेन । त्यो कालिकोटकै सबभन्दा ठुलो खेल मैदान बन्ने सम्भावना भएको ठाउँ हो । यसको ब्यबस्थापन कहिले हुन्छ ?

बिकासका सम्भावना भएको ठाउँमा हेरफेर गरिदैन । चुनाव आयो भोट माग्न बर्सेनि देउसी भैलो जस्तो नाटक हुन्छ अनि कर्णालीको कहिले मुक्ति हुन्छ माननीय सभासद ज्यु ।

धन्यवाद हाल मलेशिया 

प्रकाशन मिति :२६ माघ २०७३