मौलिक लोक संस्कृति र कलागलामा एउटा छुट्टै पहिचान भएको जिल्ला हो रोल्पा । यहाँ विभिन्न जातजाति आपसमा मिलेर बसेका छन् । सबै जातिको आ–आफ्नै सांस्कृतिक पहिचान र चिनारी छ, जसले गर्दा यहाँका सबै जातिबीचको मेल र आपसी सहिष्णुता कायम गर्न सहयोग पुगेको छ । असारमा मगर जाति भुम्या नाच्दा साउनमा नेवार जातीहरुले लाखे नाच अनि क्षत्रीहरू पैसेरु नाच जस्तै एउटा अर्को परम्परागत नाच हो– मयूर नाच ।

दसैं, तिहारजस्ता विभिन्न चाडपर्वमा होस् वा अन्य कुनै स्थानीय पूजाआजा अथवा जमघटमा रोल्पामा मयूर नाच छुट्दैन । यो नाच नाचेपछि मान्छेहरूको जमघट पनि धेरै हुने भएकाले यो नाच नाच्ने गरिन्छ ।

मयूरका प्वाँखबाट निर्माण गरिएको गरुवा कम्मर र जीउमा डोरीले बाधेर पछाडिपट्टि भिरेर मादल, डमरु र झ्यालीको तालमा हातमा लाठी लिएर एक समूहमा १० देखि १८ जनासम्मको जोडीजोडी बनाई लाठी जुधाएर नाचिने यो नाचले जोकोहीको मन जित्ने गरेको बताउँछन् ।

यो नाच कहिलेदेखि सुरु भयो र किन नाचिन्छ भन्नेबारे कुनै त्यस्तो जानकारी नभेटिए पनि धेरै वर्ष पहिलेदेखि यो नाच नाच्ने गरेको र पछिल्लो पुस्तामा पनि यो नाचको आकर्षण राम्रो रहेको भनाइ छ ।