विमल खतिवडा, चितवन  २०७३- राप्ती नगरपालिका ५ भण्डाराका जागृतप्रसाद (जेपी) भेटवाल ६२ वर्षका भए। बुढ्यौली र रोग दुवैले च्यापेको छ। तर काम गर्ने जोसमा रत्ति कमी छैन। हिम्मत उस्तै। बोली र साहस उच्च। खरो स्वभावका उनी आफूलाई कहिल्यै कमजोर ठान्दैनन्। चौथो स्टेज (अन्तिम स्टेज) को क्यान्सरसँग लडिरहेका उनलाई आफ्नो भन्दा जनताको पीर धेरै छ। विकास निर्माणमा चासो छ। सामाजिक काममा व्यस्त छन्।
‘मेरो मर्ने कुरा निश्चित भयो, कति दिनपछि भन्ने मात्र हो,’ कान्तिपुरसँग उनले भने, ‘तर मलाई यसको मतलब छैन, जति बाँच्छु, सामाजिक काममै सक्रिय हुन्छु।’ उनले सुरुमा रोगका लक्षण देखा पर्दा उपचार गराएनन्। रोग सहेर जनताको घरदैलो गरिरहे। ‘मलाई पहिल्यै क्यान्सर भइसकेको रैछ,’ उनले भने, ‘मूर्ख खालको मान्छे, त्यत्तिकै सहेर हिँड्ने गर्थें।’ चिकित्सकले आराम गर्नु भनेका छन्। तर उनी ‘मास्क’ लगाएर, लौरो समातेरै मोटरसाइकलमा बसेर जनताको काम गर्न पुग्छन्। घरमा भेट्न आउने पाहुनासँग साहसका साथ प्रस्तुत हुन्छन्। उनको बोली सुन्ने सायदैले उनलाई क्यान्सरले गाँजेको छ भनेर पत्याउँछन्।
उनको अहिले ‘केमोथेरापी’ चलिरहेको छ। जसले गर्दा कपाल झरेका छन्। ‘२१/२१ दिनको ग्यापमा केमो लगाउनुपर्छ,’ उनले भने, ‘क्यान्सर कलेजो र फोक्सोमा पनि फैलिएको छ।’ पहिला टाउकोमा ट्युमर थिएन। अहिले सानो ट्युमर पलाएको छ। करङ र हड्डीमा पहिलादेखि थियो। अरू औषधिले सुधार भएन। ‘चिकित्सकले आफ्नै रेखदेखमा केमोबाट उपचार गर्ने भनेर भारतको राजीव गान्धी अस्पतालमा केमोथेरापी सुरु भयो,’ उनले भने, ‘८ वटामध्ये २ वटा चढाइसकें, रेलमा आउने जाने गरेको छु।’ रोग लाग्दाको पीडा धेरै छ। उनलाई ०६२ सालदेखि नै यो समस्या थियो। ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो।
काठमाडौंका चिकित्सकले सुरुमा उनको रोग पत्ता लगाउन सकेनन्। काठमाडौंबाट आउँदा उनले २ वटा बस फेर्नुपथ्र्यो। ‘पिसाब फेर्नकै लागि भनेर बाटामा २ वटा बस फेर्नुपर्ने अवस्था समेत आयो ,’ उनले भने, ‘काँकडभिट्टाको बस चढदा कुदाइहाल्थ्यो, पिसाब फेर्नै पाइँदैन थियो, कसो किड्नी फुटेन।’
उनीसँगै राजीव गान्धी अस्पतालमा राजविराजका एक युवकको युरिन ब्लाडर फुटेको पत्ता लाग्यो। उनलाई चिकित्सकले बाँच्दैन भन्दा भेटवाल झस्किए। ‘मलाई अहिलेसम्म कसरी प्रकृतिले बचाएछ, थाहा छैन,’ उनले भने, ‘सपना जस्तै भाछ।’ उनी एमालेका खरो वक्ताका रूपमा चिनिन्छन्। ‘पार्टीले परिवर्तनका काम राम्रो गर्‍यो, तर यसलाई व्यवस्थापन गर्न सकेको छैन,’ उनले भने, ‘यो व्यवस्थापन नै नदेखिकन मरिने भइयो।’
पहिला जिल्लास्थित भरतपुर क्यान्सर अस्पतालमा सेकाइ गर्थे। त्यहाँ भएको मेसिन पनि बिग्रियो। ‘०६६ फागुनमा केपी ओली चितवन आएका थिए, त्यहाँ म पनि गएको थिएँ, ज्वरो आएको थियो, त्यहीं लडें,’ उनले भने, ‘सौराहाका एक कांग्रेसी साथीले काठमाडौं लगे, उपचार गर्दा क्यान्सर फैलिसकेको रहेछ।’ उनका अनुसार मासु (सिस्ट) परीक्षणका क्रममा क्यान्सर भएको पुष्टि भयो। उनलाई ‘प्रोस्टेट’ क्यान्सर भएको हो। अहिले शरीरका सबै भागमा फैलिएको छ।
‘सुरुमा औषधि खाएको थिएँ, चिकित्सकले छुटाइदिए,’ उनले भने, ‘त्यो छुटाएपछि हाडमा फैलियो, क्यान्सर रोग खतरा रैछ।’ त्यसपछि शरीरमा क्यान्सर फैलिन सुरु भयो। ‘पछि ५६ दिनसम्म खानुपर्ने औषधि मैले ४८ दिनमा खान छाडें,’ उनले भने, ‘भरतपुर क्यान्सर अस्पतालमा कलेजोको गामा परीक्षण गर्दा ५५ हुनुपर्नेमा ३ सय ८७ भएछ,’ उनले भने, ‘क्यान्सर कति फैलियो भनेर हेरिन्छ, त्यो १ सय ५० देखि २ सयसम्म हुनुपर्नेमा मेरो १ हजार ९ सय १९ पुगेको रहेछ।’
साथीहरूको सल्लाहमा उनी भारत गए। उपचार गराएर चिकित्सकको सल्लाहमा केमो चढाए। ४५/५० वर्ष नाघेकाले ‘प्रोस्टेट’ (अण्डकोष) जँचाइरहनुपर्छ। उनले थाहा पाएअनुसार अमेरिकामा ६० प्रतिशत व्यक्तिको प्रोस्टेट क्यान्सरबाट मृत्यु हुने गर्छ। उनको अप्रेसन गरे पनि त्यसको हर्मोन शरीरमा फैलिसकेको थियो। उनी गत माघ २३ गते पुन: भारत गए। केमो लगाउँदा ७ दिनसम्म त्यहीं बस्नुपर्छ। चिकित्सकले औषधि दिएका छन्।
‘केही समयअघि क्यान्सर अस्पतालमा देखाउँदा कम हुँदै गएको पाएँ,’ उनले भने, ‘मलाई रिलिफ जस्तो भएको छ।’ अनुहार हेर्दा बिरामी जस्तो देखिँदैनन्। उपचार गर्दा अहिलेसम्म करोड नाघिसक्यो। सरकारले सहयोग गरेपछि केही राहत मिल्यो। माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुँदा उपचारका लागि ५/५ लाख उपलब्ध गराए। त्यस्तै सुशील कोइराला प्रधानमन्त्री हुँदा २५ लाख सहयोग गरे। अमेरिकामा गएरसमेत जँचाएँ। ‘पार्टीको प्रयासमा मेरा लागि ठूलो सहयोग भयो,’ उनले भने, ‘त्यसैले मनोबल बढाउने काम समाज र परिवारले गरेका छन्।’
राजनीतिक आबद्धता
संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ मा उनले टिकट पाउने निश्चित थियो। कार्यकर्ताबाट समेत उनको माग थियो। पछि सुरेन्द्र पाण्डेलाई पार्टीले उम्मेदवार बनायो। बिरामी भए पनि उनले पाण्डेलाई जिताउन मतदाताको घरघर पुगेर भोट मागे। उनको लोकप्रियताले गर्दा पाण्डेलाई चुनाव जित्न सहयोग मिल्यो।
उनलाई ०४२ सालमा पार्टीले राष्ट्रिय पञ्चायत सदस्यका रूपमा उठायो। उनीसहित ४० जिल्लामा पार्टीले आफ्ना उम्मेदवार खडा गरेको थियो। उनका अनुसार जित्नेमा उनी, इलामबाट नवलकेमी राई, झापाबाट द्रोणप्रसाद आचार्य, कास्कीबाट सोमनाथ प्यासी र काठमाडौंका उम्मेदवार थिए।
०४६ सालको आन्दोलनमा उनी र भीमबहादुर श्रेष्ठले अगुवाइ गरे। सिंगो जिल्ला आफ्नो कब्जामा लिए। आन्दोलनको नेतृत्व गरेको भन्दै दुवैलाई राज्य विप्लवको मुद्दा लगाउँदै ३३ वर्षको सजाय तोक्यो। पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि मुद्दा फिर्ता लिए। ‘अहिलेका नेता प्रचारमुखी भए, जनताको कुरा सुन्दैनन्,’ उनले भने, ‘पार्टी हूल र झुन्डको अखडा भए।’
उनले भने, ‘राजनीतिज्ञ भएपछि क्षणिक सोच्नु हुँदैन, जहिले पनि ५ देखि १ हजार वर्षका लागि सोचेर काम गर्नुपर्छ।’ उनी अहिले एमालेको केन्द्रीय लेखा आयोगका सदस्य छन्। त्यस्तै १० वर्षसम्म अञ्चल सदस्य, क्षेत्रीय इन्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र सार्वजनिक लेखा समितिको अध्यक्ष भएर पनि काम गरे। ‘कांग्रेस नेता बीपी कोइराला पनि क्यान्सर लागेर निकै बाँचे,’ उनी भन्छन्, ‘त्यही भएर मृत्युसँग डराउनु हुँदैन, क्यान्सर लाग्यो भन्नेबित्तिकै हरेस खानु हुँदैन।’
उनले गरेका काम
०४७ सालमा राप्तीमा ठूलो बाढी आयो। १ हजार ८ घर विस्थापित भए। पिप्ले भण्डाराका बस्ती बढी जोखिममा परे। फेरि ०५० साल साउनमा ठूलो बाढी आयो। त्यो बेला उनी जननेता मदन भण्डारीको शंकास्पद मृत्युले आन्दोलनमा थिए। बाढीले गाउँ सखाप हुन लाग्यो भन्ने खबर उनको कानमा पर्‍यो। उनी साइकल लिएर नारायणगढबाट पुरानो पदमपुर पुगे।
सबैलाई सुरक्षित ठाउँमा जान सल्लाह दिए। सबै ठाउँमा गरेर ४०/५० भन्दा बढी बाढीमा परे। उनले पिप्ले भण्डारामा पुगेर माइकिङ गर्दै सबैलाई सुरक्षित ठाउँमा पठाए। जाने बाँचे। अटेर गर्ने बाढीमा परे।
त्यो बेला पिप्ले, भण्डारा, कठार, कुमरोज, बछौली, खैरहनी, वीरेन्द्रनगर बाढीले प्रभावित थिए। १ हजार ७ सय ५० घर बगे। ०५९ सालमा पनि बाढीको समस्या खेप्नुपर्‍यो। लोथर खोलाले पनि बस्तीलाई छाडेन।
०५० सालबाटै सरकारले तटबन्धनको काम जारी राख्दै आएको थियो। तर ०५९ सालमा लोथर राप्ती ड्याम संरक्षण समिति गठन भयो। जसको अध्यक्ष भेटवाल भए। उनकै अगुवाइ र नेतृत्वमा तटबन्धन निर्माणको काम भयो। उनलाई सबैले सहयोग गरे। अहिले पहिला जस्तो बाढीको चिन्ता छैन। अहिले समितिले निगरानी गर्छ। जिविसमार्फत काम भएको छ। ‘पहिला यो क्षेत्रमा
खोला बग्थ्यो,’ उनी भन्छन्, ‘लामो प्रयासपश्चात् गाउँलेलाई बाढीबाट जोगाउन सकियो।’ उनको सक्रियतामा पुलसमेत निर्माण भए।
‘चाहिनेभन्दा धेरै कसैको पनि प्रशंसा गरिनु हुँदैन, म मर्दै छु तर मेरो समवेदना कसैलाई नछाप्नु भनेको छु,’ उनले भने, ‘पार्टीलाई पनि मैले मरेपछि मेरो जिम्मेवारीअनुसारको फोटो मात्र राख्नु, पदभन्दा ठूलो फोटो नबनाउनु भनेको छु।’ ‘नेताको प्रशंसा गरेर के हुन्छ,’ उनले भने, ‘देशका लागि बलिदानी दिने सहिदको प्रशंसा गरौं, उनीहरूलाई बिर्सने काम नगरौं।’ उनको घर राजनीतिक नेताहरूको सेल्टर थियो। जंगल छेउमा घर भएकाले केन्द्रका नेता पञ्चायत कालमा लुक्न आउँथे। पूर्वी चितवनको पहिलो सेल्टर उनकै घर थियो। मनमोहन अधिकारी, माधव नेपाल, मुकुन्द न्यौपाने, मदन भण्डारी, झलनाथ खनाललगायत नेता आउँथे। उनका श्रीमती, २ छोरी र १ छोरा छन्।
राजनीतिशास्त्रमा एमए गरेका उनी कुनै बेला पत्रकार पनि थिए। ०३४ सालमा ‘नौलो साहित्य’ त्रैमासिकको प्रकाशक र सम्पादक थिए। जसमा उनले ०३८ सालसम्म काम गरे। त्यस्तै ०३९ सालमा ‘प्रकाश’ साप्ताहिकमा सम्पादक/प्रकाशक भएर ०५० सालसम्म काम गरे। मृत्युसँग जुधिरहेका उनलाई अहिले कमै केन्द्रीय नेताले सम्झिन्छन्। उनको स्वास्थ्यका बारेमा बढी चासो दिनेमा पार्टीका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने, शोभा न्यौपानेलगायत छन्। उनलाई एमालेको मेची–महाकाली अभियानका क्रममा यहाँ आयोजित कार्यक्रममा सम्मानपत्रले सम्मान गरिएको थियो। साभार: कान्तिपुर