***
प्रिय दमौली ।
 *
समयले मेरो दैनिकीमा एकोहोरो लगाम लगाएपछि हो, मैले सोचेजस्तो नभएको । मनमा तिमिलाई भेट्ने चहाना हुदाहुदै पनि बारम्बार भेट्न आउन नसकेको । तर तिम्रो माया मेरो मुटुभरी ब्यास गुफा जस्तै खोपिएर बसेको छ । जुन मैले चाहेर पनि कहिल्यै बिर्सन सक्दिन ।
महङ्गीको हिमचुली झन्झन् चुलिदै जाँदा मेरो गरिबखानामा एकछाक मकै खाएर र अर्कोछाक भोकै बसेर दिनहरु बिताउन बाध्य थिएँ । त्यसैले तिमिबाट अलि टाढा भएको पक्कै हो । तर तिमिलाई बिर्सेर म कहिल्यै “म” बन्न सक्दिन , पूर्ण “म” बन्नै सक्दिन ।
*
जतिबेला मेरो मस्तिष्कमा अक्षरहरुको भुत चढेको थियो, जतिबेला शब्दहरुको भूत चढेको थियो । त्यतिबेला, अक्षरहरु जोडेर शब्दहरू बनाई मलाई ताते-ताते गर्दै मेरा अमुक शब्दहरूलाई वाक्य बनाई हिडाएकी तिमिले नै हौ । तिम्रो त्यो गुन मैले यो जन्ममा तिरेर सक्दिन । त्यतिबेला तिमिले शब्दहरुको माला लगाएर वाक्यहरुमा हिड्न सिकाएरै हो, आज मैले पुस्तक लेख्न आँट र सहास बटुलेको । धन्य छौ तिमी !
साहित्यको कच्चा बाटै-बाटो हिडाएर राजमार्ग नजिक सम्म ल्याइदिने तिमिलाई बिर्सनु कठिन मात्र होइन, असम्भव भैसक्यो । त्यसैले पनि मैले माथि नै भनिसकें, तिम्रो त्यो गुनको  ऋण तिरेर यो जन्ममा सक्दै सक्दिन । त्यसैले पनि तिमिलाई बारम्बार मिस गरिरहन्छु दमौली ।
 *
त्यसो त मैले झैं तिमिलाई माया गर्नेहरू धेरै छन् । किनकी जस्ले जे चहान्छ त्यही छ तिमिमा । तिमी हरेक कुरामा पुर्ण छौ । चित्रकारले रंग्याएको बेसारे साँझ जस्तै सुन्दर रुप छ तिम्रो । सिपालु  सिल्पकारले खुब मिहेनत गरेर बनाएको सुन्दर मुर्ति जस्तै छौ तिमी । फूलहरु मुस्कुराए जस्तै मन्द मुस्कान छ तिम्रो । उस्तै चमक र रङीचङी छौ तिमी ।त्यसैले अरुले तिमिलाई मन पराइरहदा मेरो मन खुसीले गदगद् भैरहन्छ । अलिकति पनि डाहाको लेश सम्म पाउदिन ।
*
साँच्चै तिमिलाई भनुँ ? मेरो कच्चा मनमा रहरको पोकाहरु कति छन्  कति । सबै भनेर साध्य पनि छैन । तर एउटा कुरा सुन , मेरो मनमा रहेका धेरै रहरहरु मध्ये “दमौली” तिम्रो नाम रोशन गर्ने पनि हो । म प्रयत्न गरिरहेको छु , सकेसम्म संसारभर नसके कम्तीमा नेपालभर सबैले थाह पाउने गरि ।
*
हुनत सबै चहानाहरु पूरा हुनैपर्छ भन्ने पनि होइन/ छैन । सबै लक्ष्यहरु पूरा हुदैनन् पनि । तर लक्ष्य लिनुपर्छ , त्यहि लक्ष्यअनुसारको बाटोमा निरन्तर हिडिरहनुपर्छ । नजाने मेरो लक्ष्य पूरा होला / नहोला तर नेपाली साहित्यमा एउटा ईट्टा थप्ने मेरो प्रयास निरन्तर रहिरहने छ । साहित्यको उचाई बढाउन “दमौली” तिमिले सिकाएकी अक्षरहरुको सार्थक यात्रा गर्न जरुरत सम्झेको छु । भोलिका दिनहरुमा यदि मैले केही हद सम्म सफलता पाएँ भने, सगौरब त्यो सफलताको श्रेय “दमौली” तिमिलाई नै जानेछ ।
 *
तिमिलाई छोडेर केही समय पर जाँदा पनि तिम्रो अभाब खड्किरह्यो मलाई । तिमिलाई जिस्क्याईरहने मानुङका डाँडाहरु, तिम्रो रुपको प्रशंसा गरेर कहिल्यै थाकेनन् ।एकोहोरो तिम्रो सुन्दरता हेरेर टोलाइरहन्छन् ।
 *
तिम्रो रुपलाई झन सुन्दर बनाउन, रेशमी कपालझैं बगिरहने मादी र सेती नदीहरुले हरपल शुशेल्दै तिम्रै सुन्दरताको गीत गाइरहेका हुन्छन् । तिम्रो सुन्दरताको बखान गरि गरि देबघाटधाम हुँदै त्रिवेणीधाम सम्म पुगिरहेका हुन्छन् । उनिहरु आफ्नै भाषामा तिम्रो सुन्दरताको वरण गरिरहेका हुन्छन्  ।
 *
नवराज क्षितिज

प्रिय दमौली, पराशर ऋषिले जन्म दिएका वेद व्यासले तिम्रै काखमा हुर्केर चार वेद र अठार पुराण लेखेका हुन् । तिम्रो महत्व नबुझ्नेहरुले जे सुकै भनुन् , तिमी नरिसाउ । बिस्तारै पक्कै बुझ्नेछन् तिम्रो महत्वको बारेमा । भानुभक्तको जन्मभुमि हेर्न आउनेहरु पहिला दमौली नै भएर मात्र चुँदीरम्घा जान्छन् । यो मानेमा पनि तिम्रो महत्व कम छैन । अझ दिनप्रतिदिन बढिरहने कुरामा म विश्वस्त छु ।

 *
आकाशको किनारै किनार सुर्य दौडिरहेझैं , मनको किनारै- किनार दौडेर तिम्रो बस्ती सम्म पुगुं-पुगुँ लाग्छ मलाई । किनकी, तिमिले मलाई धेरै कुराहरु सिकाएकी छौ । अरुलाई पाउरोटी बनाएर मख्खन दल्नेहरुसँग साबधान रहन तिमिले नै सिकाएकी हौ । मुखमा राम- राम भनेर बगलीमा छुरा रोप्नेहरुसँग बच्न पनि सिकाएकी छौ । जीवनमा सँधै नयाँ -नयाँ  उमङ थप्न र नयाँ – नया, प्रयोग गर्न सिकाएकी छौ । त्यसको उदाहरण म नै हुँ । त्यसैले पनि होला , आउँदा जाँदा बिदाईको हात हल्लाउँदा समेत बिदाईको पीडा खप्न नसक्ने म , तिमी सँग सँधैं टाढा भएर कहाँ बस्न सक्छु र?  भविष्यमा तिमी नजिक आएर बाँकी जीवन बिताउने ठूलो रहर बोकेको छु ।
 *
खोली तरेपछी लौरो बिर्सनेहरुले तिम्रो सुन्दरतालाई पनि बिर्सन सक्लान् । तर तिमिले मन सानो बनाउनु पर्दैन ।आजभोलि बनावटी आस्था र स्वार्थी सम्बोधनहरुको बिगबिगी चलेको छ । तर सुन , जीवनका सीमित घेरामा जीवनको अर्थबोध गर्न सक्नेहरुले तिमिलाई कहिल्यै बिर्सने छैनन्  ।
तिम्रो नाम बेचेर सत्ताको बागडोर सम्हाले होलान् कतिले । तिम्रो सुन्दरताको कमी भयो भन्दै अझ सुन्दरता थप्न मेक-अप कीट किनिदिने बहानामा पाँचतारे होटेलमा पटक-पटक पार्टी गरे होलान् । तर ती सबै झुटको खेती गर्नेहरु पनि , अन्तमा दमौलीमै आएर आत्मसमिक्षा गर्ने नै छन्  ।
 *
तिमिलाई भेट्न् म पटक- पटक आइरहेको कुरा त तिमिलाई थाह नै छ । तिम्रो  सुन्दरतालाई च्याप्प समाएर छातिमा धेरै बेर टाँसिरहुँ झैं लाग्छ । तिम्रो काखमा रमाइरहेको पन्चमन्दिरको सुन्दरता आँखामा अटाइ- नअटाई सजाइरहें । तिम्रो सुन्दरता हेरेर रमाइरहने गुम्बा, चर्च र मस्जीदले पनि तिमिलाई माया गरिरहेको रहेछ । धन्य दमौली ! जातजाति र धर्मको नाममा समाजमा नराम्रो टकराव आईरहेको बेला, सबै जातजाति र धर्मावलम्बीहरुलाई मिलाएर स- सम्मान राख्न सक्नु तिम्रो विशेषता हो र तिम्रो सफलता पनि ।
 *
दमौली म सँग मन छ , भावना छ त्यो भन्दा माथि गरिबिपन छ । त्यसैले पनि सधैं तिमिसँगै रहिरहन सकिन / सकिरहेको छैन । तर यस्को मतलब यो होइन कि , म तिमिलाई सजिलै बिर्सन सक्छु ।
 *
समय सँगसँगै परिवर्तनका उकाली ओह्रालीहरु भैरहे । पूरै देशका गाउँ- गाउँ जले तर  उनिहरुले तिम्रो सुन्दरतामा अलिकती पनि दाग लगाउन सकेनन्  । तिम्रै सुन्दरताले हो भन्छु म त । तिम्रो सुन्दरता देखेर उनिहरु आफै हच्किए, फिदा भए, तिम्रो सुन्दरता देखेर लठ्ठ भएर केही गर्ने आँट नै गरेनन् । कुनै बेला गाउँ जलाउनेहरुको खुबै चर्चा चल्यो देशै भरी तर तिमिले बुझ्नुपर्छ , बजारमा  चर्चा पाएका सबै कुराहरु उत्कृष्ट कहाँ  हुन्छन् र?
 ***
प्रिय दमौली, पछिल्लो पटक तिमिलाई भेट्न जाँदा कम्ती रमाइलो  त भएन । घाइते सिंह झैं आकाश गर्जिरहेथ्यो । मानुङका डाँडाका थुम्काहरुले बादलका टोपिहरु लगाईरहेका थिए । तिम्रो छानामा ढपक्क फुलेका बादलहरु रसाएर तिमिलाई भिजाइरहेको थियो । सिमसिमपानीमा भिजेकी तिमी झन सुन्दर र कामुक देखिएकि थियौ । मानौं , तिम्रा केशहरुबाट तप्प तप्प पानी चुहिरहेका थिए । तिम्रा स्तनहरु पतलो कपडा टाँसिएर पुष्ट देखिएका थिए । तिम्रा नितम्बहरु प्रष्ट देखिएका थिए । पातलो लेगिजमा तिम्रो यौन अंङ्गको छाप प्रष्ट देखिन्थ्यो । मानौं तिमी अप्सरा हौ । स्वर्गबाट बसाइँसरेर आएकी । सुन्दर अप्सरा ।
 *
जीवनमा बिगतदेखि वर्तमानसम्मको यात्रामा के कति सम्झनाहरु आइरहे, कुनै हेक्का छैन । तर तिम्रो सम्झनाले मलाई बारबार ठुँगिरह्यो । तिमिले साहित्यमा लाग्न दिएको प्रेरणा  र बितेका दिनहरुमा तिमिसँग जे  जति सहकार्य भए, ती सबै सम्झनाहरु मेरो मन र मस्तिष्कमा जस्ताको जस्तै छन् । अलिकता पनि खज्मजिएका छैनन्  । सँधैं यस्तै रहिरहने कुरामा म बिश्वस्त छु ।
 *
त्यसो त धेरैले तिमिलाई प्रेमिका सोच्लान् , सुन्दर छ भन्लान् ।  तर मेरो लागि तिमी सबै हौ ।  “दमौली” तिमी आमा हौ, म तिम्रो काखमा बसेर श्रद्धापुर्वक तिम्रो माया, सम्मान र सेवा गर्न सक्छु । तिमी दिदिबहिनी हौ, मैले माया बाँढ्न र अरुको अगाडि इज्जत बचाउन सक्छु । तिमी प्रेमिका हौ, च्याप्प अँगालोमा बेरिरहन सक्छु, रातभर देह सुख दिन सक्छु । तिमी मेरो सबथोक हौ , मिस यू दमौली ।
 ***
नबराज क्षितिज
दमौली
( हाल अबुधाबी ,यु ए ई )